बिहीबार १५ पुष, २०७८
पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुँदैआएको प्रसूति शल्यक्रिया सेवा विशेषज्ञ चिकित्सकको अभावमा ठप्प छ । यहाँ कार्यरत डा वासुदेव सुवेदी अन्यत्र सरुवा भएपछि उक्त सेवा बन्द भएको हो । सामान्य प्रसूति सेवा भने यथावत् नै रहेको बताइएको छ । यस अस्पतालमा २०७७ को चैत मसान्तमा शल्यक्रिया मार्फत पहिलोपटक सफल शिशु जन्मिएको थियो । उक्त समयदेखि नियमित रुपमा डा सुवेदीको नेतृत्वमा गत भदौसम्म शल्यक्रिया मार्फत सफल प्रसूति सेवा प्रवाह भइरहेको थियो । डा सुवेदीको नेतृत्वमा सात जना स्वास्थ्यकर्मीको टोलीले सफल शल्यक्रिया सेवा दिएको थियो ।
शल्यक्रिया सेवालाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयमा एक जना विशेषज्ञ डाक्टर उपलब्ध गराउन अनुरोध गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा विजय परियार बताउँछन् । अस्पतालमा शल्यक्रिया मार्फत प्रसूति सेवा सुरु गरेर बीचमा विशेषज्ञ डाक्टरको समस्याले बन्द हुँदा यसमा सबैको चासो र चिन्ता बढेको छ, म आफू पनि डाक्टरको व्यवस्थापनका लागि पटकपटक मन्त्रालयमा पुगेको छु, अबको एक हप्ताभित्रमा डाक्टरको प्रबन्ध हुने आश्वासन पाएको छु,' डा परियारले बताए ।