सोमबार २७ मंसिर, २०७८
दुई दिनदेखि बाजुराको कोल्टी क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । कालजाग्रास्थित नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ परेपछि सेवा अवरुद्ध भएको जनाइएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा कोल्टीमा बैंकिङ गतिविधिसहित सबै क्षेत्र प्रभावित बनेका छन् । फोन र नेट दुवै सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी संस्थाको कामकाज प्रभावित भएको छ । टेलिकम बाजुराका अनुसार काठमाडौँबाट सामान मगाउनुपर्ने भएकाले सञ्चालनमा ल्याउन ढिलाइ भएको हो ।
डडेल्धुराबाट प्राविधिक टोली आइसकेको र सामान बाटोमा रहेकाले भोलि सोमबार साँझसम्म सेवा सञ्चालनमा आउनसक्ने जनाएको छ । सदरमुकाम मार्तडी क्षेत्रमा सञ्चालनमा रहेको इन्टरनेट सेवासमेत गुणस्तरीय नहुँदा दैनिक कामकाजमा समस्या हुने गरेको गुनासो आउने गरेको छ । दुई साताअघि मात्रै जिल्लास्थित सञ्चारकर्मीले इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन माग गर्दै नेपाल टेलिकम शाखा बाजुरा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।