आईतवार १९ जेष्ठ, २०८२
ग्रेस हिमालय काठमाडौँ २०८२ जेष्ठ १८
काठमाण्डौ जेष्ठ
बेशी सहर लमजुङ। प्रहरीले तरूण दलको लमजुङ अधिवेशनको विवादमा खुकुरी हान्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–६ बस्ने ४२ वर्षीय किरण गुरुङ रहेका छन् ।
खुकुरी प्रहारबाट बेसीसहर– ९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएका थिए ।
संस्थापन समूहका गुरुङ पक्षधरले पूर्णकालीन सदस्य हटाउने, प्रतिनिधि छनोटमै रोक्ने काम गरेको विरोध गर्दा ज्यान मार्ने मनसायले खुकुरी प्रहार भएको थियो । तरुण दलको जिल्ला अध्यक्षको आकांक्षीसमेत रहेका खुसीजंग, नेता भीम गुरुङ, बेसीसहर नगर सभापति विशाल अधिकारीलगायतलाई पूर्णकालीन सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट रोकिएको भन्दै भेषबहादुर समूहले विरोध गरेका थिए । कांग्रेसका भातृ संगठनहरू नै कब्जा गर्ने रणनीति टकराज समूहको भएको भन्दै नाराबाजीसमेत भएको थियो ।
पक्राउ परेका गुरुङ माथि लमजुङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूर मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार घटनामा संलग्न ४ जनाविरुद्ध जाहेरी दर्ता भएको छ । उक्त घटनामा संलग्न ४ जनाविरुद्ध ज्यान मार्ने कसुरमा जाहेरी दर्ता भएको लमजुङ प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए । जसमा मध्यनेपाल नगरपालिकाका किरण गुरुड, सोही ठाउँका धनबहादुर तामाङ, राइनास नगरपालिकाका गणेश गुरुङ र मस्र्याङ्दी गाउँपालिकाका भूपेश गुरुङविरुद्ध जाहेरी दर्ता भएको हो ।
तरूण दल लमजुङको अधिवेशनमा वडा तहबाट चारजना प्रतिनिधि छनोट हुने र त्यसबाहेक समावेशी प्रतिनिधि र वडामा ३५ जना भन्दा बढी साधारण सदस्य भए ३५ जनाबाट एक जना जिल्ला प्रतिनिधि छनोट गर्नुपर्ने विधानको व्यवस्था छ। तरूण दलको जिल्ला अधिवेशनमा अधिकांश वडाका प्रतिनिधि छनोट नै नगरी खाली पाना राखिएको भन्दै अधिवेशनमा विवादसमेत भएको थियो।
लमजुङमा रहेका ८ वटा स्थानीय तहमा ७२ वटा वडा छन्। वडाबाट आउने प्रतिनिधि, समावेशी प्रतिनिधि, तरूण दलको जिल्ला कार्यसमिति लगायत गरी झण्डै ५ सय जना प्रतिनिधि अधिवेशनमा रहनुपर्ने विधानको व्यवस्था रहेको छ ।
समाचार स्रोत नव प्रहार