शुक्रबार १६ पुष, २०७८
वर्षा र हिउँका कारण हिजो बुधबार बिहानदेखि बन्द रहेको त्रिभुवन राजपथ सडक खुलेको छ । बुधबार रातिदेखि वर्षा रोकिएपछि आज बिहीबार बिहानैदेखि सडक खुलाउने प्रयास भएको थियो । सडकमा भएको हिउँ पन्छाएर यातायात सेवा खुलाइएको इलाका प्रहरी कार्यालय पालुङ्गले बताएको छ । करिव ४८ घण्टापछि उक्त सडक खण्डमा यातायातका साधनहरु चल्न सुरु भएको हो ।
थाहा नगरपालिकाको सिमभञ्ज्याङ, दामन र अघोर लगायतका स्थानमा परेको हिउँ जेसिबी लगाएर पन्छाएपछि बिहीबार साँझ ५ः३० बजेबाट दुईतर्फी रुपमा यातायात सेवा संचालनमा आएको इलाका प्रहरी कार्यालय पालुङ्गका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिएका छन् ।
सडक संचालनमा आएसँगै उक्त क्षेत्रमा रोकिएर बसेका सवारीहरू गन्तव्यतर्फ पठाइएको उनले बताएका छन् । इलाका प्रहरी कार्यालय पालुङ्गको सक्रियतामा थाहा नगरपालिका समन्वय र डिभिजन सडक कार्यालय मकवानपुर जेसिबी प्रयोग गरेर सडकको हिउँ हटाइएको थियो ।