मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को हराएको सूचीमा रहेको फ्रान्सको राहदानी काठमाडौँमा फेला

बिहीबार २८ श्रावण, २०७८ Grace Himalaya 1349


अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को हराएको सूचीमा रहेको फ्रान्सको राहदानी काठमाडौँमा फेला

 अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को हराएको सूचीमा रहेको फ्रान्सको राहदानी काठमाडौँमा फेला परेको छ । अध्यागमन विभागले सेनेगलका डियागो एब्ड्रमनीको साथबाट इन्टरपोलको हराएको सूचीमा रहेको १४ ए.आर ७०७७७ नम्बरको फ्रान्सको राहदानी फेला पारेको हो ।

इन्टरपोलले २०७१ मा उक्त फ्रान्सको राहदानी हराएको सूचीमा राखेको थियो । आफ्नो पहिचान लुकाएर अर्को मुलुकको हराएको राहदानीमा शंकास्पद ढंगले यात्रा गर्नुले एब्ड्रमनीको अन्तर्राष्ट्रिय आपराधिक गिरोहहरु सँग सम्बन्ध त छैन भन्‍ने गम्भीर प्रश्‍न उठाएको छ । एब्ड्रमनीले फ्रान्सको राहदानी कहाँबाट ल्याए भन्‍ने खुलाएका छैनन् ।

विभागले राहदानी बरामद गर्ने बित्तिकै त्यसको आधिकारिकताका लागि नेपालस्थित फ्रेन्च दूतावासमा पत्रचार गरेको थियो । अध्यागमन विभागको आग्रहमा नेपालस्थित फ्रेन्च दूतावासले एब्ड्रमनीको साथबाट फेला परेको फ्रान्सको राहदानी हराएको सूचीमा रहेको पुष्टि गरेको हो । राहदानी वाहक फ्रान्सेली नागरिक आपराधिक गतिविधिमा संलग्न रहेको समेत दूतावासले पुष्टि गरिदिएको छ । फ्रान्सका मामाडोभ माकालोभको राहादानी इन्टरपोलले हराएको सूचीमा राखेको थियो । फ्रान्समा उनी चोरी, डकैती लगायत आपराधिक गतिविधिमा संलग्न भएका व्यक्ति हुन् ।

अनुसन्धानमा खटिएका अधिकृत वैकुण्ठ रेग्मीले सेनेगलका एब्ड्रमनीले फ्रान्सको हराएको राहदानी कहाँबाट ल्याए भन्ने विषय पत्ता लगाउन कठिन भएको बताए ।  रेग्मीले भने ,‘ बयानमा उनले फ्रान्सको राहदानी आफ्नै भएको दावी गरेका छन् । तर त्यो राहदानी उनको होइन।’ उनको दावीलाई नेपालस्थित फ्रेन्च दूतावास र अध्यागमन विभागका अधिकारीहरु अस्वीकार गरिदिएका छन् । विभागले सेनेगलका एब्ड्रमनी विरुद्ध जाली राहदानी अन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले सेनेगलका एब्ड्रमनीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सेनेगलको राहदानीमा नेपाल प्रवेश

एब्ड्रमनी २०७६ माघ १ गते सेनेगलको राहदानीमा नेपाल प्रवेश गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रँदा उनले सेनेगलको राहदानीमा आगमन (अराइभल) अनुमति लिएका थिए ।

उतैबाट लुकाएर फ्रान्सको राहदानी ल्याए वा काठमाडौँमा कसैले उनलाई दियो भन्ने विषय खुलेको छैन । उनी नेपाल प्रवेश गरे पनि प्रवेशाज्ञा नियमित गरेनन् । एब्ड्रमनी ५ सय ४४ दिन प्रवेशाज्ञा विना नै नेपाल बसे । गैर कानूनी रुपमा नेपाल बसेका बेला कुनै संयन्त्रले उनीबारे थाहा पाएन । अध्यामगन अधिकारीहरुका अनुसार नेपाल प्रवेश गरेपछि उनले सेनेगलको राहदानी फालेर आफूलाई फ्रान्सको नागरिक भएको प्रमाणित गराउन चाहन्थे ।

यसरी अध्यागमन पुगेका थिए एब्ड्रमनी

नेपाल आएपछि एब्ड्रमनी ठमेलको होटमा बस्न थाले । उनी पछिल्लो पटक ठमेलस्थित होटल आगमनमा बस्दैआएका थिए । होटलमा शंकास्पद गतिविधि देखाउन थालेपछि होटलका कर्मचारीहरु सशंकित बने । होटलका कर्मचारीले कागजपत्र मागे । सेनेगलका नागरिक एब्ड्रमनीले शंकास्पद व्यवहार देखाएपछि होटलका कर्मचारीले पर्यटक प्रहरीलाई खवर गरेका थिए ।

पर्यटक प्रहरीले गत असार २९ गते ठमेलबाट पक्राउ गरी उनलाई अध्यागमन विभाग पुर्‍याएको थियो । अध्यागमनका अधिकारीहरुले सेनेगलको राहदानी मागे तर एब्ड्रमनीले आफू फ्रान्सको नागरिक भएको भन्दै  राहदानी थिए । उनले वयानका क्रममा आफू फ्रान्सको नागरिक नै भएको पुष्टि गर्न खोजे । तर अध्यागमनका अधिकारीहरुले उनी फ्रान्सको नागरिक भएको भन्नेमा आशंका गरे ।

त्यसपछि उक्त राहदानी प्रमाणिकरण गर्न नेपालस्थित फ्रेन्च दूतावासमा पठाए । दूतावासको जवाफपछि अध्यागमनले उनी विरुद्ध जाली राहदानी अन्तर्गत मुद्दा दायर गरेको थियो । काठमाडौँ जिल्ला अदालतले एब्ड्रमनीलाई साउन १२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु