आईतवार ४ पुष, २०७८
रामेछाप । रामेछाप जिल्लामा हाल सम्म ३९ हजार ७ सय ९२ जना स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका छन् । जसमा महिला २० हजार ९ सय ५९ छन् भने पुरुष १८ हजार ८ सय ३३ जना रहेका छन् । जिल्लामा सबैभन्दा बढि मन्थली नगरपालिकाका १२ हजार ९ सय २२ नागरीक स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका छन् भने सबै भन्दा कम उमाकुण्ड गाउँपालिकाका २२ सय २४ जना जोडिएका छन् ।
जिल्लाको रामेछाप नगरपालिकाका ४३ हजार ९२,सुनापति गाउँपालिकाका ७ हजार २ सय २५,लिखु तामाकोशी गाउँपालिकाका २८ सय २२,खाँडादेवी गाउँपालिकाका ३ हजार १ सय १८,गोकुलगंगा गाउँपालिकाका २ हजार ७ सय ५९ र दोरम्बा गाउँपालिकाका ३ हजार ५ सय ३० जना विमित रहेको स्वास्थ्य बीमा बोर्ड रामेछापका प्रमुख यज्ञराज ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म ५ हजार ६ सय ९७ जना जेष्ठ नागरीकहरुले स्वास्थ्य बीमा गराएका छन् । पुर्ण अशक्त अपांगता भएका घर परिवार संख्या १ सय २६ रहेको उहाँले जानकारी दिनुभयो । अति गरिबि तथा रातो कार्ड प्राप्त गर्ने परिवार १६ सय ५७ रहेका छन् ।
समस्त नेपाली नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि नेपालमा २०७२ सालमा सामाजिक सुरक्षााको रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ । अहिले देशभर ७५ जिल्लामा कार्यक्रम सञ्चालन भईरहेको छ । स्वास्थ्य बीमा नियामवली २०७५ अनुसार जेष्ठ नारिकहरुको बीमा प्रिमियम सरकारले तिरिदिने व्यवस्था छ ।