मंगलवार १२ आश्विन, २०७८
तत्कालीन कर फछ्र्योट आयोगका सदस्य सचिव चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख धरौटीमा छाड्न आदेश दिएकोछ । उपस्थित हुने निवेदन हालेर अदालतमा हाजिर भएका शर्मालाई विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । धरौटी बुझाएर उनी छुटेका छन् । कर फछ्र्योट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियारले उनिविरुद्ध मुद्दा दायर गरेको थियो ।
असार ९ मा आयोगले चूडामणि सहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकाललाई पनि विपक्षी बनाएर मुद्धा दायर गरेको थियो । उनीहरुले कर फछ्र्योट आयोग ऐन–२०३३ अनुसार राम्रो नियत नराखी गलत नियतले काम गरेको अख्तियारले आफ्नो अभियोग पत्रमा जिकिर गरेको छ ।