शनिबार ९ आश्विन, २०७८
वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको डोटीको कपल्लेकी नापानी हुँदै गड्सेरा जोड्ने सडक नखुल्दा नागरिकलाई सास्ती हुँदै आएको छ । गएको श्रावन, भदौ महिनामा परेको पानीका कारण उक्त सडक खण्डका विभिन्न ठाउँमा पहिरो आएर सडक बन्द भएको हाे । सडक अझै नखुल्दा दैनिक उपभोग्य वस्तु किन्न र आफूले उत्पादन गरेका वस्तु बजारसम्म लैजान समेत कठिन भएको स्थानीयवासी डम्बरबहादुर विष्टले बताएका छन् । पहिराेले सडक बिग्रिएको दुई महिना भइसक्यो, खोल्नका लागि कुनै पहल भएको छैन, मान्छे बिरामी पर्दासमेत अस्पताल लैजान सक्ने अवस्था छैन, उनले भने । बन्द भएको सडक खुलाउनका लागि स्थानीयवासीले पटक पटक शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा डिभिजन सडक कार्यालय दिपायलमा आग्रह गर्दा समेत कुनै पहल नभएको जोरायल गाउँपालिका ५ का प्रकाशबहादुर रावलले बताएका छन् ।
सडक नखुल्दा गाउँमा उत्पादन भएका साग, तरकारी तथा फलफूल बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको स्थानीयवासी लालबहादुर सार्कीले बताए । यसैगरी सडक बन्द भएपछि गाउँमा गाडी नजाँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत आकासिएको उपभोक्ताहरूको गुनासो रहेको छ । गाउँमा गाडी नआउने र एक दिनको पैदल दुरीबाट सामान बोकेर ल्याउनुपरेका कारण दैनिक उपभोग्य वस्तु महँगिएको शिखर नगरपालिका १ नापानीका व्यापारी रामबहादुर बोगटीलेबताएका छन् ।
यसैबीच हप्ता दिनभित्रमा यो सडक नखुलाए आन्दोलन गर्ने स्थानीयवासीले चेतावनी समेत दिएका छन् । सडक बन्द हुँदा सदरमुकाम आउजाउ गर्न घण्टौँ टाढा पर्ने कैलालीको शिवनगर तथा डोटीको भीमदत्त राजमार्गको बाटो प्रयोग गर्न बाध्य भएको स्थानीयवासी ललित विष्टले जानकारी दिनुभयो । डिभिजन सडक कार्यालय दिपायलय कुल्पातेले दिपायल नापानी हुँदै गड्सेरा जोड्ने सडक शिखर नगरपालिका मातहत भएका कारण त्यो सडक खोल्न नगरपालिकाले नै पहल गर्नुपर्ने बताएको छ । शिखर नगरपालिका १ का वडाध्यक्ष खडकबहादुर शाहीले वर्षाका कारण बिग्रिएको सडक खुलाउनका लागि डोजरको माग गरी अवश्यक पहल भइरहेको बताएका छन् ।