मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

तुइनबाट खसेर महाकाली नदीमा युवक बेपत्ता भएको घटना छानविन गर्न भारतीय पक्षलाई पत्राचार

आईतवार १७ श्रावण, २०७८ Grace Himalaya 1276


भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउने क्रममा तुइनबाट खसेर महाकाली नदीमा युवक बेपत्ता भएको घटना छानविन गर्न ३ वटा सुरक्षा निकायका अधिकारीहरु घटनास्थलमा पुगेका छन् । दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीका अनुसार सो घटनाको सम्बन्धमा सत्यतथ्य जानकारी गराई, आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भनि भारतीय पक्षलाई पत्राचार गरिएको छ ।

सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–४४,  जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोली घटनास्थलमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

साउन १५ मा ब्यास गाउँपालिका वडा नम्बर–२ खाङदाङ मालघाटबाट तुइनमार्फत  भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय एसएसबीका जवानले तुइनको डोरी काटेपछि  धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । 

ब्यास गाउँपालिका–२ माल बस्ने वर्ष ३३ का जयसिंह धामीको अवस्था अझै अज्ञात छ । सो घटना अनुसन्धान र छानविनको क्रममा रहेको हुनाले दुई देशको सम्बन्धमा खलल पार्ने किसिमले प्रचार नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु