शनिबार ५ भाद्र, २०७८
कक्षा १२ को परीक्षा अझै सञ्चालन गर्न नसकेकोमा प्रतिनिधि सभाका सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन् । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रवारको बैठकमा बोल्दै समितिका सदस्यहरूले दुई / दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आलोचना व्यक्त गरेका हुन् ।सांसद जयपुरी घर्तीमगरले विना विकल्प कक्षा १२ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताएकी छिन् । समितिका सभापति समेत रहेकी उनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको भन्दै सरकारलाई प्रश्नसमेत गरेकी छिन् ।
समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटक–पटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराएका छन् । विश्वकर्माले विद्यार्थीहरूलाई आतङ्कित पार्ने गरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा सङ्कट व्यवस्थापन (सीसीएमसी) ले भूमिका खेलेको भन्दै आक्रोशसमेत व्यक्त गरे । कोरोनाको समयमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर भए पनि परीक्षा सञ्चालन गर्नुपर्नेमा सांसद विश्वकर्माको जोड छ । समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराए । पोखरेलले परीक्षा सञ्चालनका लागि विद्यार्थीहरूलाई तत्काल आवश्यक कोरोना खोपको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सचेत गराए ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्नुपरेको स्पष्टीकरण समितिमा दिएका थिए । उनले आफूहरू चरणबद्ध रूपमा भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्न तयार रहे पनि कोरोनाका कारण त्यसबाट पछि हट्ने परिस्थिति आएको बताए । प्रवक्ता शर्माले कोरोना सङ्कटकै कारण सीसीएमसीले आफूहरूलाई परीक्षा सञ्चालन गर्ने अनुमति दिन नसकेको पनि समितिलाई जानकारी दिए ।