आईतवार ५ श्रावण, २०८२
ग्रेस हिमालय काठमाडौँ साउन ४ आइतबार २०८२
काठमाडौं । सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी) मा मनीष थापालाई बढुवा गर्न सिफारिस गरिएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एक डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो।डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन्। यो ब्याचका मनिष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी छन्।
तर प्रकाश र विनोदराजले स्टाफ कलेज गरेका छैनन्। सशस्त्र प्रहरीमै भर्ना भएको टोलीलाई डीआईजीमा बढुवा हुन स्टाफ कलेज अनिवार्य छ। यस्तै नेपाल प्रहरीको प्राविधिक सईबाट आएका कृष्णराज पाठक पनि अहिले एसएसपी छन्। उनी अहिलेका एसएसपीमा सबैभन्दा सिनियर थिए। तर यसअघि नै दुई ब्याचले पछि पारिसकेका थिए। उनीभन्दा पछाडिका सशस्त्र प्रहरीको पहिलो ब्याचका सबै र दोस्रो ब्याचका पनि दीपेन्द्र कुँवर र विष्णु भट्ट डीआईजी भइसकेका छन्।
सशस्त्र प्रहरी बलका एसएसपी रवीन्द्रराज कर्णजीतलाई पाँच वर्ष बढुवा रोक्का गरिएको छ । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) मा कमान्डरका रूपमा खटिँदा एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेका एसएसपी कर्णजीतलाई पाँच वर्ष बढुवा रोक्का गरिएको हो । छानबिनका क्रममा एसएसपी कर्णजीतले ती महिलामाथि अभद्र व्यवहार गरेको पुष्टि भएपछि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको पाँच वर्ष बढुवा रोक्का गरेका हुन् ।
सशस्त्र मुख्यालयले यो विषयमा छानबिन थालेको थियो । छानबिनका क्रममा सशस्त्र मुख्यालयले उनीसँगै फर्किएको टोलीसँगसमेत सोधपुछ गरेको थियो । ११ औँ डफ्फाको टोलीका एफपीयू कमान्डर एसएसपी कर्णजीतमाथि आफ्नो कार्यकाल सकेर स्वदेश फर्किनुभन्दा केही दिनअघि युएनमै कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेको थियो । उनीमाथि त्यहाँको एक रेस्टुरेन्ट (टुकुल) मा ती नर्वेजियन महिला कर्मचारीको गोप्य अंगमा स्पर्श गरेको आरोप थियो ।
ती महिलाले यूएन हेडक्वार्टरमा उजुरी दिएपछि मात्रै एसएसपी कर्णजीतको अभद्र व्यवहारबारे जानकारी सशस्त्र प्रहरी मुख्यालयले पाएको थियो । यूएन हेडक्वार्टरले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई घटनाबारे मेल गरेपछि मात्रै सशस्त्र मुख्यालयले यो बारेमा थाहा पाएको थियो । सशस्त्र मुख्यालयलाई यूएन मुख्यालयले दुई पटक पत्र पठाएको थियो । त्यसपछि मात्रै सशस्त्र मुख्यालयले यो विषयमा छानबिन थालेको थियो । एसएसपी कर्णजीतको टोलीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक जहरसिंह बुढाको टोलीले रिप्लेस गरेको थियो । बुढाको टोली गत वैशाख २३ गते राति इथियोपियन एयरलाइन्सद्वारा त्यसतर्फ प्रस्थान गरेको थियो ।
सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहका कायममुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होम ज्ञवाली एसएसपीमा कन्फर्म हुने भएका छन् । तीन वर्षभन्दा बढी समयदेखि आर्थिक प्रशासन महाशाखाको प्रमुख रहेका कामु एसएसपी ज्ञवालीलाई सो पदमा कन्फर्म गर्न गृह मन्त्रालय बढुवा समितिको सचिवालयले असार २६ गते नै तीन दिनको समय दिएर सूचना निकालेको थियो ।
सशस्त्र प्रहरी बल नम्बर ३ बाहिनीले नम्बर १५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाईंलाई विभागीय कारबाही गरेको छ । बाहिनीमा प्राप्त उजुरी र त्यसपछि बाहिनीले गरेको छानबिनमा गणपति प्रसाईंले सशस्त्र प्रहरी बलको आचरणविपरीत प्रशस्तै त्रुटि गरेको पुष्टि भएपछि उनलाई नसियत दिइएको हो । उजुरी परेपछि नम्बर ३ बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी पोखरेलले उनलाई सोधपुछका लागि केही दिनअघि बाहिनी तानेका थिए । गणपति प्रसाईंले रासनका लागि ६० प्रतिशत कर्मचारीलाई आउट छाडेको, सशस्त्र प्रहरी कर्मचारीलाई तुच्छ व्यवहार गरेको, इन्द्रावती र रोशीका क्रसर व्यवसायीसँग सम्बन्ध राखेर रकम असुली गरेको रिपोर्ट गरेपछि नसियत दिइएको हो ।
समाचार स्रोत नव जनप्रहार