मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

प्रधान मन्त्री गृहमन्त्री र मन्त्रीहरू थुनिँदा जेल जाँदा प्रहरी वा प्रशासक हरू दुःखी छन् होला?

शुक्रबार २० असार, २०८२ ग्रेस हिमालय काठमाण्डौं 1078


प्रधान मन्त्री गृहमन्त्री र मन्त्रीहरू थुनिँदा जेल जाँदा प्रहरी वा प्रशासक हरू दुःखी छन् होला?

ग्रेस हिमालय काठमाण्डौ २० असार २०८२ शुक्रबार 

– बसन्त कुँवर

बिगत केही वर्षभित्र, धेरै गृहमन्त्रीज्यूहरू फौजदारी कसुरमा आफैँ कारबाहीमा परेका, जेल गएका, विवादमा परेका, मुद्दा मामिला झेलेका देखियो। हाल पूर्व प्रधानमन्त्रीहरू पनि मुद्दा मामिलामा परेको देखियो। तर वहाँहरू समस्यामा पर्दा वा परिरहँदा, कुनै बेला वहाँहरुकै मातहतमा काम गरेका, वरिपरि सलाम गर्दै दौडने गरेका, पूर्व तथा बहालवाला प्रहरी अफिसर वा प्रशासकहरूले सार्वजनिक रूपमा, वहाँहरूप्रति सहानुभूति देखाएको वा वहाँहरूलाई अन्याय प¥यो भनेको वा वहाँहरू त्यस्ता नराम्रा व्यक्ति हुनुहुन्न भनेर बोलेको, लेखेको र डिफेन्ड गरेको देखिएन। कतै प्रहरी प्रशासकहरू कारबाहीमा परेका नेताज्यूहरूसँग भित्रभित्रै रुष्ट त थिएनन्?

यदि ती शासकहरूबाट निम्न कामहरू भएका थिए भने चाहिँ पक्कै ती कर्मचारी वा प्रहरीहरू रुष्ट भएकै हुन् भन्ने मान्न सकिन्छ। ती रुष्टताका कारणहरू यस्ता यस्ता हुन सक्छन्–

यदि तपाईं नेताहरूले कुनै अफिसर सिनियर हुँदा हुँदा पनि उनलाई पछि पारेर तलका अफिसरलाई पदोन्नति दिनुभएको थियो वा छ भने, बुझ्नुस् ती अन्यायमा परेकाहरू तपाईंप्रति अत्यन्तै रुष्ट छन् र भइ नै रहने छन्। ती व्यक्तिहरूले तपाईंलाई टेलिभिजनमा देख्दा पनि परिवारसहित गाली गरिरहेका छन् र तपाईंले यो गाली आर्यघाट पुगेसम्मै खानुपर्नेछ। यदि तपाईंले कुनै कर्मचारीको अन्यायपूर्वक जागिर नै खाइदिनुभएको छ भने बुझ्नुस्, तपाईंले आर्यघाट गएपछि पनि नबिर्सिने दुश्मनी कमाइसक्नुभएको छ। 

यदि तपाईंले त्यो मातहतको कार्यालयबाट खरिद बिक्रीमा कमिशन खानुभएको थियो, कमसल सामान खरिद वा निर्माण गराउनु भएको थियो, कल्याणका लागि राखिएका कोष मास्नुभएको थियो वा सार्वजनिक सम्पत्ति हानि गराउनु भएको थियो भने, तपाईंलाई थुनिनै पर्छ भन्ने ती कर्मचारीहरूको मनमा अवश्य छ। 

यदि तपाईंले तिनको सरुवा, बढुवा र नियुक्तिमा पैसा खानुभएको छ, माग्नुभएको छ वा अरूसँग पैसा खाई कसैलाई बिगार्नुभएको छ भने बुझ्नुस्, तपाईं आर्यघाटमा पुग्दा ती कर्मचारीहरूले खसी काटेरै खाने छन्। ती अत्यन्तै रुष्ट छन्। यदि तपाईंले तिनलाई सुन, पास, तस्करी लगायत आपराधिक काम गर्न बाध्य बनाउनु भएको छ भने ती मनमनै तपाईंलाई घृणा गरिरहेका छन्। अझ तपाईंलाई पैसा खुवाउने क्रममा ती कर्मचारीहरू कारबाहीमा परे, तर तपाईंले आफू चोखो बनी तिनीहरू माथि दोष थुपार्नुभएको छ भने त ती तपाईंको पतनको कामना गरिरहेका छन्। 

यदि तपाईंले नाता–गोता वा राजनीतिक दलको आधारमा कसैलाई च्यापी सक्षम र सिनियरहरूलाई बिगारिरहनुभएको छ भने तपाईंलाई ती बिग्रनेहरूले सापटसँग सरापिरहेका छन् र तपाईंको पतनको कामना गरिरहेका छन्। यदि तपाईंले कुनै कर्मचारी वा प्रहरीलाई दलको क्याडरजस्तो बनाई उपयोग गरी, अझ हिसाब किताब गरी ती व्यक्तिलाई सर्वोच्च पदमा पु¥याउने षड्यन्त्र र फोहरी खेल खेलिरहनुभएको छ भने तपाईंलाई नफरत गर्ने र सराप्नेहरूको समूह नै छ। तपाईंलाई बिग्रने र बिगारिएका हरूले देख्नै सहने छैनन्।

यदि तपाईंले पदमा रहँदा तिनीहरूलाई होच्याउनु भएको छ, अपमान गर्नु भएको छ वा तिनको करियर लापरबाहीपूर्वक बिगार्नुभएको छ भने पनि तपाईंले बुझ्नुस्, तपाईंले तीन पुस्ते दुश्मनहरू कमाउनुभएको छ।मेरो लामो सरकारी जागिरको अनुभवमा भन्नुपर्दा — “नेताज्यूहरूले बुझ्नुपर्छ कि कर्मचारी कसैका हुँदैनन्। ती पद्धतिमा चल्छन्।” राजा आएर प्रजातान्त्रिक नेता थुन्नु भन्ने आदेश पाएपछि पनि प्रहरी प्रशासकले नेताहरूलाई निर्ममतापूर्वक थुनिदिन्छन् र एक गृहमन्त्री आएपछि पुराना थुन भन्नु भए पनि, हिजो सलाम गरेको बिर्सी पक्डिदिन्छन्।

जब कर्मचारीहरूले पनि नेताज्यूहरूलाई पक्रने मौका पाउँछन्, तब तिनले आफूविरुद्ध अन्याय भएको भए त्यसको भरपाइ गर्दछन्। तिनीहरूले भरपाइ कसरी गर्छन्, त्यो त प्रहरी कारबाही झेलेका र झेलिरहेकाले पक्कै अनुभव गरेको वा गरिरहेका हुनुपर्छ।

राम्रो यही हो कि नेताज्यूहरूले थोरैलाई आफ्नो बनाउने चक्करमा धेरैलाई रुष्ट बनाउने हुँदैन। समय खराब आएपछि ती आफ्ना भनिएका पनि निर्मम भएर प्रस्तुत हुनेछन्, किनभने आफ्ना भनिएकाहरूलाई पनि त लागेको हुन सक्छ, “यीन्ले मलाई शोषण गरेर मात्र आफ्नो मानेका हुन्, जबकि म काबिलै थिएँ।”“म काबिल थिए भने मलाई आफ्नो बनाउने क्रममा यीन्ले शोषण गरे किन त?”




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु