मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

मनकामना मन्दिरसहितका अन्य धार्मिकस्थलहरू पर्सि २३ गतेदेखि खुल्ने

मंगलवार २२ भाद्र, २०७८ Grace Himalaya 1481


मनकामना मन्दिरसहितका अन्य धार्मिकस्थलहरू पर्सि २३ गतेदेखि खुल्ने

 गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसहितका अन्य धार्मिकस्थलहरू पर्सि २३ गतेदेखि खुल्ने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले आउँदो बुधबारदेखि मन्दिर खुल्ला गर्ने निर्णय गरेको हो ।

शहीद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति र सरोकारवालाहरूको छलफलले मन्दिरमा २३ गतेदेखि पूजाआजा लगायत धार्मिक कार्य सञ्चालन गर्ने दिने निर्णय भएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । मन्दिर खुल्ला भए पनि मनकामना मन्दिरमा आउने भक्तजनहरूले सिधै मन्दिरभित्र प्रवेश भने नपाउने भएका छन् ।

मन्दिरमा दर्शन र पूजापाठका लागि पुग्ने भक्तजन तथा दर्शनार्थीले ढोकाबाहिरबाटै दर्शन गर्ने एवम् पूजा सामग्रीहरू मन्दिरको सहयोगी मार्फत पुजारीसम्म पु¥याएर पूजा गर्ने व्यवस्था मिलाइने मन्दिर व्यवस्था समितिले जनाएको छ । श्रद्वालुहरूका लागि मन्दिर परिसरमा साबुनपानीको व्यवस्था गर्ने, मन्दिरका पुजारी तथा कर्मचारीले सुरक्षाका सबै मापदण्ड अपनाउनेदेखि सुरक्षकर्मीहरूले श्रद्वालु भक्तजनालाई सामाजिक दूरी कायम हुने गरी लाइनमा राख्नेसम्मको व्यवस्था गर्नुपर्ने निर्णय प्रशासनले गरेको छ ।

त्यसैगरी दर्शनार्थीका सुरक्षालाई ध्यान दिँदै रुघाखोकी लागेका कुनै पनि दर्शनार्थीलाई मन्दिर प्रवेशमा रोक लगाउने भएको छ । बैठकले मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबुलकार, मनकामना क्षेत्रमा सञ्चालित यातायात सार्वजनिक यातायात सेवा सञ्चालक र होटल रेष्टुरेन्ट तथा पसल सञ्चालकहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालन गर्न लगाउने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु