बुधबार ९ भाद्र, २०७८
तेह्रथुम पावर कम्पनीको आईपीओका लागि आजबाट आवेदन खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि शेयर जारी गरी बाँडफाँड समेत गरिसकेको छ । दोस्रो चरणमा भने सर्वसाधारणका लागि १ सय अकिंत दरका ८ लाख कित्ता शेयर बिक्री खुला गरेको हो ।
निष्कासित शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कर्ताहरूका लागि छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आवेदन १३ भदौसम्म दिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिसम्ममा मागअनुसारको आवेदन नपरेमा भदौ २३ गतेसम्म बिक्री खुला गरिने छ । एनआईबीएल एस क्यापिटल कम्पनीको सेयर निष्कासन प्रबन्धक हो ।
उक्त आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।