सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

कैलालीमा नेपाल प्रहरीले पैसा असुलेर जुवाडे भगाएको आरोप

बुधबार २० श्रावण, २०७८ Grace Himalaya 1392


कैलालीमा नेपाल प्रहरीले पैसा असुलेर जुवाडे भगाएको आरोप

 कैलालीमा नेपाल प्रहरीले पैसा असुलेर जुवाडे भगाएको आरोप लागेको छ । हिजो सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोक स्थित एक रेष्टुरेन्टमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीबाट प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली जुवाडेसँग भएको करिब ८ लाख रुपैयाँ बरामद गरेर उनीहरुलाई भगाएको आरोप लागेको हो । ‘हामी साथीभाइहरु सामान्य रमाइलोका लागि बसिरहेका थियौं, रेष्टुरेन्टमा उपस्थित एक ब्यक्तिले भने, ‘त्यही बेला प्रहरी टोली आइपुग्यो । उहाँहरुले रेष्टुरेन्टको घर्रामा राखिएको ६ लाख, सबैको खल्तीमा भएको रकम समेत गरेर थप दुई लाख रुपैयाँ खोसेर लानुभयो ।

प्रहरी स्रोतका अनुसार रकम बरामद गरेपछि जुवाडेहरुलाई पक्राउ गर्नुको साटो छोडिएको थियो । ‘ जुवा खेलिरहेको सूचनापछि जिल्ला र प्रदेशबाट प्रहरी टोली खटाइएको थियो, एक प्रहरी अधिकृतले भने, ‘तर पक्राउ गर्न भनेर खटिएका प्रहरीहरुले रकम असुल्दै उहाँहरुलाई छोडेर संगठनप्रति नै गद्दारी गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले भने जुवा खेलिरहेको भन्ने सूचना आएपछि प्रहरी टोली खटिएको तर उनीहरुलाई पक्राउ गर्न नसकिएको खबर छ । ‘हामीलाई जुवा भइरहेको भन्ने सूचना प्राप्त भएपछि टोली परिचालन गरिएको थियो । तर जुवाडेहरु भागिहाले । नगद ८५ हजार रुपैयाँ बरामद गरेका छौं, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले बताए ।

रकम असुलेर जुवाडेलाई भगाएको भन्ने आरोप निराधार भएको बताउँदै डीएसपी बिष्टले प्रमाणसहित आएमा सम्बन्धित प्रहरीलाई कारबाहीको दायरामा ल्याइने जनाएका छन । तर जुवाडे पक्राउ गर्न खटिएकै प्रहरीबीच समेत लेनदेनमा कुराकानी नमिल्दा विवाद सिर्जना भएको स्रोतको भनाई छ । सोही कारण प्रहरी अधिकारी नै दुईथरी कुरा गर्न थालेका छन् । जुवाडे पक्राउ गर्न खटिएका एक प्रहरी अधिकारीले रेष्टुरेन्टको घर्रामा ५ देखि ६ लाख रकम राखिएको भन्ने सूचनाका आधारमा त्यहाँ पुगे पनि उक्त पैसा नभेटिएको दाबी गरे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु