शुक्रबार २२ आश्विन, २०७८
नेपाली कांग्रेसको यस वर्ष दशैँको अवसरमा चियापान नगर्ने निर्णय भएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बिहिबार विज्ञप्तिमार्फत यस वर्ष कोभिड- १९ को कारणले चियापान कार्यक्रम नगर्ने जनाएका हुन् । यता, नेकपा एमालेमा पनि चियापान गर्ने/नगर्नेमा अन्योल कायम रहेको छ । एमालेले चियापान गर्ने मिति अहिले सम्म तोकेको छैन । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले चियापान गर्ने भनिए पनि अझै मिति नतोकिएको बताएका छन् ।
यस वर्ष चियापान गर्ने हाम्रो तयारी रहेको छ’, उनले भने, ‘तर, कहिले गर्ने भन्नेमा मिति तोकिएको छैन । चियापान भने निश्चित गर्छौं । गत वर्ष कोरोना भाइरसका कारणले कुनै पनि दलले चियापान गरेका थिएनन् । कांग्रेसले २०३३ सालमा स्वर्गीय बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको छ । यस्तै, मनमोहन अधिकारीको नेतृत्वमा एमाले सरकारमा सहभागी भएपछि नियमित चियापान गर्दै आइरहेको छ ।