आईतवार १० आश्विन, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी एनआरएनएका सल्लाहकार समेत रहेका आचार्यले औपचारिक रुपमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौँमा हुँदैछ । एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पनि उनले बताएका छन् ।
उनले भने, संस्थाका संस्थापक र अग्रजहरुको साथ विश्वभर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुझाव, भावना, चाहनाका आधारमा मैले आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको हुँ । विश्वभरी रहनुभएका तपाई सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अमूल्य आर्शिवाद, सहयोग, समर्थन, शुभकामनाले निर्वाचित हुनेमा म विश्वस्त छु । र मैले संकल्प गरेको छु कि तपाई हामी सबैको गैर आवासीय नेपालीहरुको पवित्र मन्दिर गैर आवासीय नेपाली संघलाई मैले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने छु ।
आचार्यले आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरु संचालन गर्ने, एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।उनले एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौंता गर्ने आश्वासन समेत दिएका छन् ।