बुधबार ३० भाद्र, २०७८
बेलायतमा लामो समयको प्रतीक्षापछि कोरोना विरुद्धको तेस्रो डोज खोप वितरण गरिने भएको छ । अर्को साताबाट प्राथमिकताका आधारमा ‘बुस्टर’ डोज खोप वितरण गरिने बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदले बताएको छ । कम्तीमा तीन करोड बेलायती नागरिकहरूलाई बुस्टर डोज खोप दिने तयारी भएको पनि जाविदले बताएका छन् । सुरुमा ५० वर्ष उमेर पुगेका, शारीरिक अवस्था कमजोर भएका १६ देखि ४९ वर्ष उमेरका तथा अग्रपङ्क्तिमा खटिएर काम गर्ने हेल्थ एन्ड केयर वर्कर्सहरुलाई उक्त खोप वितरण गरिने अधिकारीहरूले जनाएका छन् ।
यसअघि जुनसुकै खोप लगाइएको भए पनि बूस्टर डोजको रूपमा फाइजरको खोपलाई मुख्य प्राथमिकतामा राखिएको छ । तेस्रो अर्थात् बूस्टर डोजको खोप लगाउन दोस्रो डोज लगाएको छ महिना पुगेको हुनुपर्नेछ । ५० वर्ष भन्दा कम उमेरका स्वस्थ व्यक्तिलाई भने बूस्टर डोज लगाउने सम्बन्धमा कुनै निर्णय भएको छैन ।
जोइन्ट कमिटी अन भ्याक्सिन एन्ड इम्युनाइजेशन (जेसीभीआइ) ले बुस्टर खोपलाई वितरण गर्ने सल्लाह दिएपछि बेलायत सरकारले तत्कालै खोप वितरण तयारी थालेको हो । आगामी साताबाट सुरु गरिने बुस्टर डोज आउँदो क्रिसमस सम्ममा पूरा गरिने छ । कोरोना विरुद्धको खोपका साथै फ्लू ज्याब पनि लगाउन सकिने जेसीभीआइ र एमएचआरए ले जनाएका छन् ।