सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको समस्या समाधानमा नभए आमरण अनसन सुरु गर्ने चेतावनी

सोमबार २५ श्रावण, २०७८ Grace Himalaya 1330


भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको समस्या समाधानमा नभए आमरण अनसन सुरु गर्ने चेतावनी

नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको समस्या समाधानमा प्रभावकारी प्रयास नगरे नेपालमा पनि नागरिक समाजले आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन् । ब्रिटिस गोर्खा सैनिकलाई समान व्यवहार, सेवाको स्वच्छ मूल्यांकन र मानवीय व्यवहार नभएको भन्दै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले बेलायतमा अहिले आमरण अनसन सुरू गरेका छन् । उनीहरूको अनसनलाई ऐक्यबद्धता जनाउँदै नेपालमा रहेको राष्ट्रिय स्वाभिमान जागरण अभियानका अभियन्ताहरूले नेपालमा पनि आमरण अनसन सुरू गर्ने चेतावनी दिएका हुन् । 

राष्ट्रिय स्वाभिमान जागरण अभियानमा आबद्ध नागरिक समाजमा अगुवाहरु डा. युवराज संग्रौला, डा. कुमार शर्मा आचार्य र प्रेमचन्द्र राईले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको माग पूरा गराउन सरकारले प्रभावकारी पहल गर्नुपर्ने र त्यसो नगरे नेपालमा आमरण अनसन सुरू गर्ने घोषणा गरेका हुन् । उनीहरूले सरकारलाई सात दिनको समयसीमा दिएका छन् । राष्ट्रिय स्वाभिमान जागरण अभियान र भुपू ब्रिटिश गोर्खा सैनिकहरुले आज भर्चुअल रूपमा संवाद कार्यक्रम आयोजना गरेका थिए । सोही कार्यक्रममा नागरिक समाजका अगुवाहरुले आमरण अनसन सुरू गर्ने चेतावनी दिएका हुन् ।

भुपू ब्रिटिश गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्त बुझ्दो क्षतिपूर्ति, बयस्क छोरा–छोरीहरुलाई बेलायतमा निःशर्त आवासीय भिसा दिनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन् । यस अघि बेलायतमा १३ जना भुपू ब्रिटिश गोर्खा सैनिकहरूले रिले अनसन गरिहेको  थिए । हिजोबाट उनीहरूले आमरण सुरू गरेका छन् । बर्षौदेखि नेपाली नागरिकको बेहाल भइरहँदा पनि सरकारले बेवास्ता गरेको डा. युवराज संग्रौलाले बताए । भुपू ब्रिटिश गोर्खा सैनिकहरूको माग जायज रहेको र उनीहरूको माग सम्बोधनको लागि नेपाल सरकारले पहल लिनुपर्ने संग्रौलाको भनाइ छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु