बुधबार २९ मंसिर, २०७८
रामेछापको रामेछाप नगरपालिका वडा नं ६ र ७ को सिमा भालुखोप डाँडामा भ्युटावर बनेको छ । भ्युटावर निर्माणभएसँगै रामेछाप लगायत अन्य जिल्लाबाट भालुखोप डाँडा घुम्न आउने पर्यटकको चहलपह बढेको छ । रामेछाप जिल्लाकै पर्यटकीय संभावना बोकेको भालुखोप डाँडामा भ्युटावर बनेपछि घुम्न आउने मानिसहरुको चहलपह बढेको स्थानीय गङ्गा बहादुर तामाङले बताउनुभयो । भ्युटावर निर्माण नहुँदा पनि भालुखोप डाँडा मानिसहरुको रोजाइमा पर्ने गरेको थियो, जसकाकारण विभिन्न जिल्लाबाट घुम्न आउनेहरुको राम्रै चहलपहल हुन्थ्यो, भ्युटावर निर्माण भएपछि मानिसको चहलपहल झनै बढेको छ उहाँले भन्नुभयो ।
भालुखोप डाँडामा बनेको भ्युटावरबाट रामेछाप, ओखलढुङ्गा र सिन्धुली जिल्लाका अधिकांस भागहरुको दृश्यावलोकन गर्न सकिने रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडाध्यक्ष समिर कार्कीले बताउनुभयो । वडा अध्यक्ष कार्कीका अनुसार यो भ्युटावरबाट जनकपुरको जानकी मन्दिरमा बलेको बत्ति समेत देख्न सकिन्छ । रामेछाप नगरपालिकाको एक करोड ४१ लाख रुपियाँ लागतमा ६० फिट अग्लो चार तले भ्युटावर निर्माण भएको छ, भ्युटावर बनेपछि नगरपालिका सहित जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकहरुको विकाससँगै जिल्लाकै आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्वास लिएका छौं वडा अध्यक्ष कार्कीले भन्नुभयो । उहाँका अनुसार नगरपालिकाले पर्यटकीय संभावन भएको भालुखोप डाँडामा पर्यटकीय पूर्वाधार विकासका कामलाई प्राथमिकता साथ सञ्चालन गरिरहेको छ ।