शनिबार २३ आश्विन, २०७८
अब बागमती प्रदेश सरकारका सबै सूचना तथा जानकारी एउटै पोर्टलबाट पाउन सकिने छ । सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सुरु गरिएको बताएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्राली डा. अजय क्रान्तिले शुक्रबार सूचना बैंकको उद्घाटन गरेका छन् । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीको व्यवस्था अनुरूप यो प्रणाली सञ्चालनमा ल्याइएको हो । जसअनुसार प्रदेशका सात ओटै मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभासहित १४ ओटा कार्यालयका सूचना एउटै पोर्टलबाट पाउन सकिने बनाइएको छ ।
नेपालमै पहिलोपटक बागमती प्रदेशमा सूचना बैंक सञ्चालनमा ल्याउन सक्नु हाम्रा लागि गर्वको विषय हो, मन्त्री क्रान्तिले भने, अहिले १४ ओटा कार्यालयका सूचना तथा जानकारी सूचना बैंकमा आउनेछ । आगामी दिनमा बागमती प्रदेशका ११९ ओटै स्थानीय तहका सूचना समेत यसैमा आउनेगरी सूचना बैंक विकास गर्ने प्रदेश सरकारको तयारी रहेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव मदन भुजेलले सूचना बैंकको प्रभावकारिता र उपयोगितालाई बढाउनु पर्नेमा जोड दिएका छन् ।प्रयोगकर्ताले इन्फोबैंक डट बागमती डट जीओभी डट एनपी मा गएर प्रदेशका सम्पूर्ण सूचनामा पहुँच पाउन सक्नेछन् ।