सोमबार ७ भाद्र, २०७८
गाइजात्रा पर्वका अवसरमा भोलि सोमबार शेयर बजार बन्द हुने भएको छ । सरकारले उक्त अवसरमा काठमाडौं उपत्यकामा बिदा दिने भएपछि नेपाल स्ट एक्सचेञ्जले पनि बजार बन्द गर्ने भएको हो । शेयर बजारको पहुँच काठमाडौं उपत्यकामा मात्रै नभएर देशका अधिकांश जिल्लामा पुगिसकेको छ । २०६८ सालदेखि नै शेयर बजारको पहुँच काठमाण्डौ उपत्यका बाहिर पुगिसकेको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् ।
लकडाउनमा पनि बन्द नभएको शेयर बजार उपत्यका बन्द हुँदा देशभरकाले कारोबार गर्न नपाउने गरी बन्द गर्न नहुने केही लगानीकर्ताहरुको माग थियो । शेयर बजारको पहुँच उपत्यकाबाहिर भएपछि नेप्सेको कार्यालय काठमाडौं उपत्यकामा रहेकाले बन्द गर्ने निर्णय भएको प्रवक्ता पराजुलीले बताए । सार्वजनिक बिदाबाहेक हरेक आइतबारदेखि बिहीबारसम्म शेयर बजार खुला रहने गरेको छ । गत बिहीबारपछि शुक्रबार र शनिबार नियमित बिदा साथै आइतबार जनै पुर्णिमा र सोमबार गाइजात्राको बिदा पनि शेयर बजार मंगलबारमात्रै खुला हुनेछ ।