सोमबार २५ श्रावण, २०७८
सांसद विकास कोषको बजेटबाट १५ लाख रुपैयाँ पाएको चन्द्रनगर गाउँपालिका–१ किसनपुरस्थित सडक हिजोआज पनि हिलाम्य रहेको छ ।यो सडक स्तरोन्नति भइसकेको भनेर गाउँपालिकाले असार १५ गते नै प्रतिवेदन तयार पारिसकेको थियो, तर स्थानीय बासिन्दा भने सडकको अवस्था सुधार नभएको गुनासो गर्दै आएका छन् । स्थानीय रामवृक्ष महतोको घरदेखि भैसियाही सम्मको सडकबारे स्थानीय अवधलाल रायले भने, अहिले पनि यो सडक पुरानै अवस्थामा छ, सांसदले दिएको १५ लाख रुपैयाँ कहाँ गयो थाहा छैन ।
अर्का स्थानीय राजकुमार महतो भन्छन्, प्रदेश २ का जिल्लामा विकासका काम गर्दा कम्तीमा आधा भए पनि काम गर्ने चलन छ, तर यहाँ एक मुठी माटो र बालुवा पनि हालेको देखिएको छैन, स्थानीय राजकुमार महतो भन्छन्, ‘कागजी रुपमा भने काम भइसकेको देखाइएको छ ।
सांसद प्रमोद साहको निर्वाचन क्षेत्र पर्ने यस क्षेत्रमा आर्थिक वर्ष २०७७/७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत १५ लाख रुपैयाँ परेको थियो । गाउँपालिका अध्यक्ष महेन्द्र महतो उक्त सडकमा काम नभएको स्वीकार गर्छन् । उनले यो सडकको सट्टा अर्कै सडक स्तरोन्नति गरिएको दाबी गरेका छन् । रामवृक्ष महतोको घरदेखि भैंसीयाहीसम्म तीनवटा सडक रहेको र त्यसमध्ये एउटा मात्र स्तरोन्नति भएको अध्यक्ष महतोले बताए छन् । बिना काम गरी उपभोक्ता समितिलाई कसरी रकम दिन्छु ?’ उनी भन्छन्, ‘काम भएको छ । त्यसै भुक्तानी गरिएको छैन ।’
गाउँपालिका अध्यक्ष महतोले त्यहाँ तीनवटा सडक भएको बताए पनि स्थानीयले भने एउटा मात्रै सडक भएको बताउँछन् । यहाँ कुनै तीनवटा सडक छैन, एउटा मात्रै छ,’ स्थानीय रामेश्वर महतोले भनेका छन् ।